कोरोना कहरः ब्राजिलमा एकैदिन ४ हजार धेरै व्यक्तिको मृत्यु, अस्पतालहरु विरामीले भरिभराउ

काठमाडौं, चैत २६ ।ब्राजिलमा कोरोनाबाट एकैदिन ४ हजार भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । यो सँगै त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।

संक्रमण सुरु भएयता ब्राजिलमा एकै दिनमै ४ हजार १ सय ९५ व्यक्तिले ज्यान गुमाएको यो पहिलोपटक हो ।अमेरिकापछि कोरोनाबाट सर्वाधिक धेरै मृत्यु हुने देश ब्राजिल हो ।

ब्राजिलमा अहिलेसम्म ३ लाख ३७ हजारभन्दा धेरैले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।यतिबेला अस्पतालहरु विरामीले भरिभराउ हुँदा ब्राजिलको स्वास्थ्य प्रणाली धरासायी हुने विन्दूमा पुगेको छ ।

मानिसहरु उपचारको प्रतिक्षा गर्दागर्दै मृत्यु हुने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।फियोक्रुज हेल्थ इन्स्टिच्युटका अनुसार ब्राजिलमा ९२ वटा विभिन्न स्वरूपका कोरोना भाइरस देखिएको जनाएको छ ।

यसमध्येको एक पी। १ वा ब्राजिली भेरिएन्ट हो । कोभिड १९ को सुरुवाती स्ट्रेनभन्दा यो भाइरस धेरै प्राणघातक हुनसक्ने अनुमान गरिएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ३० लाख नाघिसकेको छ ।

मार्चमा मात्रै ६६ हजार ५ सय बढीले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्राले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्