नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

काठमाडौं , चैत २६ । नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा २.९ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८–७९ र २०७९–८० मा क्रमशः ४.२ र ५.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ । गत आर्थिक वर्षमा कोभिड–१९ महामारीका कारण नेपाली अर्थतन्त्र १.९९ प्रतिशतले संकुचन भएको थियो ।

विश्व आर्थिक परिदृश्य (वल्र्ड इकोनोमिक आउटलुक, २०२१ अप्रिल) सार्वजनिक गर्दै आइएमएफले छिमेकी भारतको अर्थतन्त्र सन् २०२१ मा १२.५ प्रतिशत र चिनियाँ अर्थतन्त्र ८.४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

सन् २०२० मा भारतीय अर्थतन्त्र ८ प्रतिशतले संकुचन भएको थियो भने चिनियाँ अर्थतन्त्रको विस्तार सन् १९९२ यताकै कम २.३ प्रतिशत मात्र भएको छ ।

आइएमएफले विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशत र २०२२ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरेको छ । कोभिड–१९ महामारीले सन् २०२० मा विश्व अर्थतन्त्र ३.३ प्रतिशत संकुचन भएको आइएमएफको संशोधित अनुमान छ ।

सन् २०२० मा आइएमएफका १९० सदस्यमध्ये दुई दर्जनभन्दा कम देशहरूले मात्र धनात्मक आर्थिक वृद्धिदर हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्