विवेकशील साझा पार्टीले भन्यो- प्रदूषण नियन्त्रणका लागि सरकार गम्भीर भएन

काठमाडौं , चैत २५ । विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ ।

आज सो पार्टीले एक विज्ञप्ति जारी गर्दै सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भिर चासा र तत्परता नदेखाउनुले थप चिन्ता बढाएको जनाएको हो ।

काठमाण्डौ उपत्यकासहित देशभर पछिल्लो समय वायु प्रदूषण उच्च भई अत्यन्त घातक अवस्थामा पुगेको जनाउँदै विज्ञप्तिमा भनिएको छः ‘नेपालको संविधानले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरेको सरकारलाई विवेकशील साझा पार्टी स्मरण गराउँदछ। वर्षा र पश्चिमी वायुको गति हाम्रो अधीनमा नरहे पनि हालको प्रदूषणका प्रमुख कारक देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ–धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्नु अत्यन्त जरुरी छ।’

सो पार्टीले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी सामुदायिक समूहहरूको समेत साथ लिएर सेना र प्रहरीलाई आवश्यक उपकरणसहित डढेलो नियन्त्रणमा अविलम्ब खटाउन समेत सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा डढेलो नियन्त्रणका लागि अन्य मुलुकले उपयोग गर्दै आएको हेलिकप्टरबाट रसायन छर्किने सहितका प्रविधिको उपयोगबारे पनि तत्काल तयारी अघि बढाउन आह्वान गरिएको छ ।

आवश्यक परे प्रदूषण गर्ने उद्योग कलकारखाना केही समय बन्द गर्ने लगायतका उपाय लगाउनु वाञ्छनीय हुने जनाउँदै विज्ञप्तिमा धुवाँ धुलो नियन्त्रणका लागि केही समय सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने, सम्भव भएसम्म घरबाट काम गर्न प्रेरित गर्ने लगायतका उपाय अप्नाउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्