बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ , चैत २५ । कोरोना संक्रमण बढेको भन्दै यस वर्षको बिस्केट जात्रा नर्गन भनिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै जात्रा गर्न नदिने निर्णय गरेको थियो। तर यता आज सर्वोच्च अदालतले भने भक्तपुरमा नयाँ वर्षमा मनाइने बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

भक्तपुरका स्थानीय बासिन्दा एवं अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा रोक्ने निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आदेश दिएको हो।

उक्त निर्णयविरुद्ध मंगलबार परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले जात्रा सञ्चालन गर्न आदेश दिएको हो । जात्रा रोक्ने प्रशासनको निर्णयप्रति भक्तपुरका स्थानीय बासिन्दा एवं गुठियारहरु आक्रोशित थिए। उनीहरुले मनाउन पाउनु पर्ने भन्दै आक्रोशित बनेका थिए ।

यता भक्तपुर नगरपालिकाले बुधबार शान्ति पूर्ण र कोरोनाबाट बच्न होसियारी पूर्वक जात्रा चलाउने निर्णय गरेको छ। नगरपालिको सरोकारवालहरुसँग छलफल गरेर रथ तान्ने र लिंगो ठ्ड्याउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिने निर्णय गरेको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आह्वान गरेको बैठकमा गुठियार, स्थानीय बासिन्दा सहभागी थिए। कोरोनाले गर्दा गत वर्षदेखि नै विभिन्न हाम्रा मौलीक चाडहरु मनाउन पाएको छैन । यो वर्ष पनि कोरोनाले गर्दा नमनाउन भनिएको थियो तर स्थानीयले भने मानेका थिएनन् । अब सर्वोच्चको फैसलाले भने उनीहरु मनाउन पाउने भन्दै खुशि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्