बढ्यो कोरोनाको जोखिम : ९ बजेपछि रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु बन्द गर्न आग्रह

काठमाडौँ, चैत २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमण तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको हो ।

पछिल्लो समय नेपालमा पुनः कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले विभन्न १० बुँदे निर्णय गर्दै उक्त निर्णयहरु पालना गर्नरगराउन अनुरोध गरेको छ ।

जसअनुसार ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बढ्दो दरलाई मध्यनजर गर्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो ।

घरबाहिर र सार्वजनिक स्थामा जाँदा मास्कको प्रयोगलाई अनिवार्य गराउने र माक्स प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी कडाइका साथ लागु गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्