भोलिका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक सर्यो, अब कहिले ?

काठमाडौं, चैत २६। भोलिका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । चैत २७ गतेलाई बोलाइएको बैठक चैत ३० गतेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारेमा छलफलका लागि बोलाइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई बोलाइएको छ ।

यसअघि चैत २० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो ।

आफैंले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेस बैठकले निचोड निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्