बाढी–पहिरोमा परेका घर पुनर्निमाणका लागि ५० करोड दिइने , प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं , चैत २६ । बाढी–पहिरोमा परेका घर पुनर्निमाणका लागि ५० करोड दिइने भएको छ । गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएका बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको विपद जोखिम न्यूनिकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो ।

विपद व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनर्निमाणका लागि रकम दिने निर्णय भएको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

कार्यविधि अनुसार घर पुननिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडीमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ प्रतिघर दिने उल्लेख छ । बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनर्निमाणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

साथै प्रधानमन्त्री ओलीले डढेलो बढिरहेको उल्लेख गर्दै नियन्त्रणका लागि सबै स्रोत र जनशक्ति प्रयोग गर्न विपद व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन् । डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको उल्लेख गर्दै ओलीले यसलाई ठूलो विपदको रुपमा लिएर नियन्त्रणका लागि गम्भिर बन्न निर्देशन दिएका हुन् ।

बैठकमा बाढीको पूर्वतयारीबारे पनि छलफल भएको छ । उनले आगो नियन्त्रणका लागि आवश्यक उपकरण र साधन स्थानीय तहसम्म व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्