सुध्रिएनन् मासु पसल : झिङ्गा भन्केको, मापदण्डविपरीत फोहर

काठमाडौं, चैत २६ । भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर र मापदण्डविपरीतका सञ्चालन भइरहेको पाइएको हो ।

भक्तपुर नगरपालिकाले यसअघि गरेको मासु पसल अनुगमनमा पनि यस्तै अवस्था देखिएको र पटक–पटक सुझाव दिँदा पनि अटेर गरेको भन्दै अनुगमन टोलीले मासु पसलमा सुधार नगरेकाले अब पनि अटेर गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलविनायक क्षेत्रका विकास मिटसपमा बधस्थल पर्याप्त सफा नभएको, मासु खुला राखेर बिक्री गर्दा झिङ्गा भन्केको, धुलो परेको र फोहर भएको भन्दै सुधार्न निर्देशन दिएको छ ।

त्यस्तै कमलविनायक मिटसप अर्केको नाममा दर्ता गरेको, मूल्यसूची नराखेको, फोहर रहेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, मासुमा धुलो, धुँवा र झिङ्गा नजान जाली तथा सिसाको प्रयोग नगरेको पाइएको छ ।

सुरेन्द्र मिटसप, सरज मिटसप, मूलढोका ब्रोइलर हाउसलगायतमा मासु धुलो, धुँवा र झिङ्गा नभन्किने गरी व्यवस्था गर्न जालीले छोप्ने वा सिसाको बाकस बनाई व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताए।

अधिकांश मासु पसलमा सेतो एप्रोन प्रयोग नगरको, दर्ता तथा नवीकरण नगरेको पाइएकाले त्यस्तालाई तीन दिनभित्र दर्ता नवीकरण गर्न निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्