श्रोत नखुलेको १६ लाख नगदसहित ३ जना पक्राउ , चोरी कार्यमा संलग्न ५ जना समातिए

काठमाडौं, चैत २७ । वीरगंज महानगरपालिका–१० रानीघाटस्थित सडकबाट श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका–४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान र सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगंज महानगरपालिका–१० आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेका छन् ।

वीरगंज महानगरपालिका–१० रानीघाट पुलस्थित सडकबाट उक्त श्रोत नखुलेको रकम र ना।१२ प ५०७३ नम्बरको मोटरसाइकल सहित तवारख र जोखन साईलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त कारोबारमा उमेशको समेत सलंग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साको आदेशले ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चोरी कार्यमा संलग्न ५ पक्राउ

चोरी कार्यमा संलग्न रहेको अभियोगमा ४ जना र चोरी गरेका सामान खरिद गर्ने १ जना गरी ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२९ बस्ने कुखुरे भन्ने २५ वर्षीय राजेश लामिछाने, काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने नुवाकोट बेलकोट गढि नगरपालिका–७ घर भएका २५ वर्षीय भिम तामाङ, काठमाडौं चन्द्रागिरी नगरपालिका–४ ठेगाना भई तारकेश्वर नगरपालिका–४ बस्ने २३ वर्षीय रितेश लामा, तारकेश्वर नगरपालिका–४ बस्ने धादिङ सिद्धलेख गाउँपालिका–४ ठेगाना भएका बिलाष खतिवडा र चोरीका सामान किन्ने तारकेश्वर नगरपालिका–४ बस्ने धादिङ धुनेबेशी नगरपालिका–९ घर भएका २८ वर्षीय नवराज सदाशंकर रहेका छन् ।

टोखा नगरपालिका–८ स्थित सुरेश शाहीको घरबाट ४० ईन्चको टिभि सहित सुनका विभिन्न गहना समेत गरी करिब १३ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको धनमाल गत पुस १९ गते चोरी भएको घटनामा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट चोरी गरिएको टिभि, मोबाइल तथा सुनका गरगहना समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त महाशाखाले जनाएको छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

वीरगंज महानगरपालिका–१६ नगवास्थित ग्यारेजबाट ना।१२ प ९८०२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका–१ बस्ने २० वर्षीय बिशाल मुखियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१६ बाईपास सडकमा उक्त मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको बिलबुक नरहेको हुँदा उक्त मोटरसाइकल सहित मुखियालाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनले ग्यारेजमा रहेको सो मोटरसाइकल चोरी गरी ल्याएको खुल्न आएको हो ।

उनी उपर चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट दिन ७ म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्