विवाहको लगनले सुन खरिद गर्ने बढे, आज कति छ मुल्य ?

काठमाडौं, चैत ३० । अब बिहेको लगनको महिना सुरु हुन एकदिन मात्रै बाँकी छ । बिहेको लगनको महिना भएकाले पनि यति बेला नेपाली बजारमा सुन किन्नेहरु बढेका छन् ।

गत पुसदेखि विवाहको लगन नभएको, सुनको मूल्य उच्च भएको र कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएका कारण सुनको किन्नेहरु घट्दै गएका थिए। तर, बैशाखमा भने विवाहको लगन भएकाले सुनको खरिद गर्ने बढेका हुन्।

लामो समयपछि विवाहको ‘सिजन’ शुरु हुन थालेकाले सुनको माग बढेको सुन व्यवसायीले बताएका छन् ।नयाँ वर्ष शुरुदेखि नै विवाहको लगन पनि शुरु हुन थालेकाले सुन बिक्री पनि बढेको हो ।

विवाहको पूर्वसन्ध्यामा सुन खरिद गर्नेहरुको पसलमा भिडभाड लाग्न थालेको छ। विवाहको लगन नभएकाले सुनसान बनेका सुन पसलहरुमा यति बेला भिडभाड देखिन थालेका छन्।

यता, सुन व्यवसायीलाई बैशाखमा हुने विवाहका लागि सुन बिक्री गर्न भ्याइनभ्याइ छ। बैशाखमा हुने विवाहका लागि सुन खरिद गर्नेको चाप बढ्दै गएको व्यवसायीहरुको भनाइ छ।

विवाहमा बढी सुन आवश्यक भएको भन्दै व्यवसायीले माग गरेपछि नेपाल राष्ट्र बैंकले दैनिक कोटा बढाएको छ। राष्ट्र बैंकले सुन आयातमा कटौती गर्दै दैनिक १० किलो मात्र ल्याउन स्वीकृत दिँदै आएकोमा त्यसलाई बढाएर दैनिक २० किलो आयात गर्न दिने निर्णय गरिसकेको छ।

यसैबीच सुनको भाउमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको भाउ स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ६०० र तेजाबी सुन ८९ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० र तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।सोमबार चाँदी भने अघिल्लो दिनकै मूल्य अर्थात प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्