भारतबाट स्वदेश फर्किनेको लर्कोः कैलाली आएका ४३ जनामा कोरोना पुष्टि

काठमाडौं, चैत ३० । भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमानाकामा स्वदेश फर्किनेको भिडलागेको छ ।

सुदुरपश्चिबाट रोजगारीका लागि भारत गएकाहरु अहिले धमाधम घर फर्किरहेका छन् । पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भीड बढेको हो । यसैबीच आज मात्रै त्रिनगर–गौरीफन्टा नाका हुँदै कैलाली भित्रिएका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ४३ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्पडेस्कले जनाएको छ ।‘सीमानाकामा ६ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूलाई धनगढी उप–महानगरपालिकाले वडा नम्वर १५ को कनरीमा बनाएको आइसोलेसनमा राखिदै आएको छ । उक्त आइसोलेसन भरीभराउ भएपछि धनगढीको कवर्डहलमा पनि राख्ने तयारी भएको उप–महानगरपालिकाले जनाएको छ । दैनिक एक हजार नेपाली अहिले त्रिनगर नाका भएर स्वदेश फर्किरहेका छन् ।

अहिलेसम्म भारतबाट फर्किरहेकाहरुमा कोरोना परीक्षण गर्दा ५ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । दुवै नाकामा आइतबारसम्म १० हजार जनाको परीक्षण गरिएकामा चार सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्