कोरोनाबाट १३ जनाको मृत्यु, ५५९ जनामा संक्रमण पुष्टि, १३८ निको भए

काठमाडौं, चैत्त ३० । नेपालमा कोरोना भाइरसका ५५९ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार १०५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५९जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको जानकारी गराएको छ ।

पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार १६५ जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाबाट १३ जनाको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५३ जनाको मृत्यु भएको छ ।

हाल तीन हजार ३०६ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख १७ हजार २८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । यसैबीच उता पछिल्लो केही दिनयता बाँके जिल्ला कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ ।

बाँकेमा हिजो ४० जना संक्रमित थपिएका थिए भने आज पनि ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ७८ जनाको पिसिआर परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

बाँकेमा चैत महिनाको शुरुबाटै संक्रमितको संख्या बढ्दै गए पनि हाल संक्रमण तीव्र गतिमा कोरोना फैलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्