बढ्यो कोरोनाको जोखिम : एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौँ , चैत ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ।

कोरोना संक्रमण फैलन नदिन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

अहिले कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै विद्यार्थी र शिक्षकहरु रहेको मन्त्रालयको विश्लेषण छ। प्रवक्ता गौतमले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्नुपर्ने बताए।

बरु जनस्वास्थ्य मापदण्ड पालना गर्छौँ तर विद्यालय बन्द नगरौँ भनेर जोखिमसँग खेल्न नहुने उनले बताए।

सोमबार मात्रै शिक्षा मन्त्रालयले आयोजना गरेको छलफलमा विद्यालय सञ्चालकहरुले बरु जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्ने व्यवस्था मिलाइनुपर्ने तर विद्यालय बन्द गर्न नहुनेमा जोड दिएका थिए। त्यसपछि तत्कालै विद्यालय बन्द गर्ने मनस्थितिबाट शिक्षा मन्त्रालय पछि हटेको थियो।

तर स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमणको चेन ब्रेक गर्न विद्यालय बन्द गर्नुको विकल्प नरहेकोले एक महिना बन्द गर्नका लागि सरकारलाई सिफारिस गरेको हो। अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । १८ वर्षभन्दा कम उमेरका लागि भ्याक्सिन नबनेकाले पनि संक्रमण बढ्न दिन नहुने बताएको छ ।

दैनिक ११ हजार संक्रमित हुन सक्ने प्रक्षेपण

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्