भारतबाट फर्केका एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, बैशाख २ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पर्वतका एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको पैयुँ–५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । उनी हालै मात्र भारतबाट घर फर्केका थिए । १० दिनदेखि उच्च ज्वरो आए पनि उनको ५ दिनअघि मात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चैत २९ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ ६ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।

उनमा निमोनिया र खोकीको समेत समस्या रहेको प्रवक्ता गौतमले जानकारी दिए । कोरोना अस्पतालमा तीन दिनअघि मात्रै तीनजना संक्रमितको मृत्यु भएको थियो । यसैबीच रुपन्देहीमा बुधबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार ४८ जनामध्ये बुटवल उपमहानगरका मात्रै २१ जना छन् । रुपन्देहीमा हालसम्म १५७ जना कारोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्