एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर ८ जनाको मृत्यु

काठमाडौं, बैशाख ३ । एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर ८ जनाको मृत्यु भएको छ ।
अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए । उक्त गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन् ।

संयुक्तराज्य अमेरिकामा हरेक वर्ष गोली लागेर झण्डै ४० हजार व्यक्तिको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । यीमध्ये आधाभन्दा बढी गोली चलाएर आत्महत्या गरेका घटना छन् ।

संयुक्तराज्य अमेरिकामा बन्दुकको नियमन गर्ने बारेमा राजनीतिक तहमा निकै ठूलो बहस हुने गरेको छ, तर बन्दुक राख्ने बारेमा कडा कानुनको अभावमा यसको गलत प्रयोग बढ्दो छ ।

राष्ट्रपति जो बाइडेनले यसै महिना छ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनको भनाईमा यी व्यवस्थाले अमेरिकामा बन्दुकसँग सम्बन्धित हिंसा कम हुने अपेक्षा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्