बादल पुनः गृहमन्त्रीमा नियुक्त, आज साँझ ५ बजे शपथ ग्रहण

काठमाडौं , बैशाख ५ । राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै गृहमन्त्रीबाट पदमुक्त रामबहादुर थापा ‘बादल’ ले आजै पुनर्नियुक्ति पाउने भएका छन् ।

थापालाई आजै साँझ ५ बजे गृहमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा–सदस्य पद खारेज भएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू निर्वाचित पार्टी छाडेपछि सांसद पद पनि जाने प्रावधानअनुरूप पद खारेज गर्न माओवादी केन्द्रले सूचना गरेपछि संघीय संसदले उनलाई राष्ट्रिय सभाको सदस्य पदबाट हटाएको हो ।

योसँगै मन्त्री पद पनि स्वतः समाप्त हुने प्रावधान छ । तर सांसद नरहे पनि प्रधानमन्त्रीले ६ महिनासम्मका लागि मन्त्री पदमा भने पुनः नियुक्ति दिन सक्ने संवैधानिक व्यवस्था छ ।
सोही बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई फेरि गृहमन्त्री पदमा पुनर्नियुक्ति दिने भएका हुन् ।

यता यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभाका चार जना सदस्यलाई कारवाही गरेको थियो । नेताहरु नेकपा (एमाले) मा प्रवेश गरेपछि सो दलले कारवाही गरेको थियो । उनीहरु यसअघि नै पद तथा गोपनीयताको शपथ खाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्