कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै , यी विषयमा हुनेछ छलफल

काठमाडौं , बैशाख ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो अहिले २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनदेखि अहिलेको समसामयिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीस्य कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि बस्नु पर्ने बैठक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण आइतबारलाई सरेको हो ।कांग्रेसले लामो समयसम्म विशेष मुद्दा बनाउन नसकेको सत्ता परिवर्तनको मुद्दालाई पनि आइतबारको बैठकमा गम्भीर रुपले उठाउने भएको छ ।

कर्णाली प्रदेशमा कांग्रेसले सघाएर मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव असफल भएको छ । शुक्रबार भएको उक्त कदमपछि कांग्रेस उक्त सरकारमा सहभागी हुने सम्भावना बढेको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमपछि प्रदेशमा देखिएको असन्तुष्टिलाई कांग्रेसले सत्ता परिवर्तनको अवसरका रुपमा अब मुद्दा बनाउनु पर्ने आवाज नेताहरुले उठाउन थालेका छन् । यो विषयमा गम्भीर छलफल गरी एक वा दुई प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नु पर्ने नेताहरुको जोड छ ।

ओलीले आफ्नै पार्टी एमालेका इतर पक्ष (खनाल–नेपाल) का नेताहरुलाई धमाधम कारबाही गर्ने नीति अख्तियार गरेपछि प्रदेशहरुमा सत्ता परिवर्तन हुने निश्चित जस्तै छ । यो प्रक्रिया प्रदेश हुँदै संघीय सरकारमा पनि आउन सक्ने भन्दै अब यसका लागि पनि नेतृत्व तयार हुनुपर्ने दबाब बढेको छ । यता आगामी भदौमा कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने भए पनि नेतृत्व गम्भीर बन्न नसकेको आरोप लाग्दै आएको छ ।

महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि पटक पटक म्याद थपिए पनि पूर्ण हुन सकेको छैन । कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको थियो । तर केही जिल्लाले अझैसम्म क्रियाशील सदस्यता वितरण गर्न फारम नपाएको बताएका छन् ।

कांग्रेसले महाधिवेशनका लागि क्रियाशील सदस्यको संख्या १० लाख पुर्याउने योजना बनाएको भए पनि अहिलेसम्म ६ लाख मात्रै सदस्य पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्