रामबहादुर थापा फेरि बने गृहमन्त्री , आजै शपथ

काठमाडौं , बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृह मन्त्रीमा पुनः नियुक्त गरेकी छिन् ।

राष्ट्रिय सभा सदस्य पदमुक्त भएसँगै गृह मन्त्री पदबाट समेत मुक्त भएका थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले त्यही पदमा पुनः नियुक्त गरेकी हुन् ।

कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट २०७४ को राष्ट्रिय सभा सदस्य चुनावमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रिय सभा सदस्यबाट मुक्त गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ । गृह मन्त्रीमा पुनः नियुक्त थापाले आइतवार नै साँझ ५ बजे शपथ लिनेछन् । गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्