माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, सरकारको समर्थनबारे होला त निर्णय ?

काठमाडौं , बैशाख ५ । नेकपा माओवादी केन्द्रले सोमबार स्थायी कमिटी बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाएको हो।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए। भोलिको स्थायी कमिटी बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन बारे निर्णय लिइने एक नेताले बताए ।

उनले भने, ‘हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन भन्यौ । उहाँले अहिलेसम्म दिनुभएको छैन । अब हामीले दिएको समर्थन फिर्ता हुनेछ । त्यसका लागि भोलिको स्थायी कमिटी बैठकले निर्णय लिनेछ ।’

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले गठबन्धनको सरकार बनाउन आनाकानी गरिरहेका छन्। प्रचण्डले ओली प्रतिगमनको बाटोमा लागेको भन्दै सरकारबाट हटाउन पहल गरिरहेका छन्।

यसै क्रममा प्रचण्डले पछिल्लो समय विभिन्न कार्यक्रमहरूमा बोल्ने क्रममा संघ, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा छिट्टै सरकार परिवर्तन हुने दाबी पनि गर्दै आएका छन्।

अर्कोतिर नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

यसअघि हिजो प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन् ।

प्रतिक्रिया दिनुहोस्