एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल – खनालपक्ष नजाने

काठमाडौँ, बैशाख ६ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेलाई बोलाएको छ ।

बैठकमा साविकका २४१ जना र फागुन २८ मा मनोनित २३ सहित २६४ सदस्यहरूलाई खबर पठाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा अध्यक्ष आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र लुम्बिनी प्रदेशमा पार्टी ह्विप विपरित ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार टिकाउने भूमिका खेलेका खनाल(नेपाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय गर्ने तयारी छ ।

ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका थिए ।

बुढा, शाही र थापालाई यसअघि नै प्रदेश कमिटीले पार्टी सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । तर उनीहरूलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाइसकेका छन् ।

आजको बैठकमा जिल्लामा नयाँ इञ्चार्जहरू तोक्ने तयारीसमेत ओलीले गर्नेछन् । पार्टीको सांगठनिक प्रतिवेदनमा नेताहरूको कार्यविभाजन के कस्तो रहने भन्ने उल्लेख भएर आएबमोजिम जिम्मेवारी बाँडफाँड हुने उनले बताए ।

यस्तै खनाल-नेपाल पक्षले भने आजको केन्द्रीय कमिटी बैठक पनि बहिष्कार गर्ने भएको छ ।नेपाल खनाल– पक्ष नजानेआजको बैठकमा नेपाल पक्षका कति नेताहरु सहभागी हुन्छन् भन्ने विषयमा चासोका साथ हेरिएको छ ।

फागुन २८ मा एकलौटी बैठक राखेर ओलीले माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन तथा पदाधिकारीको जिम्मेवारी खोसेको भन्दै असन्तुष्ट सो समूह बैठकमा नजाने भएको हो ।

नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले आजको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न ओलीलाई आग्रह गरेका छन् ।

आइतबार एक अपिल सार्वजनिक गर्दै बोहराले आजका लागि ओलीले बोलाएको बैठक रोक्न आग्रह गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्