कोरोना प्रकोपः बालबालिका जोखिममा, अभिभावक अन्योलमा, सरकार अनिर्णयमा

काठमाडौं, बैसाख ६ । कोभिड– १९ संक्रमितको संख्या बढिरहे पनि शैक्षिक संस्थामा पठनपाठन जारी राख्ने वा बन्द गर्नेबारे सरकारको ठोस निर्णय नआउँदा सञ्चालकदेखि अभिभावकसम्म अन्योलमा परेका छन् । शिक्षा, स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहबाट छुट्टाछुट्टै अपिल गर्दा शैक्षिक संस्था सञ्चालन गर्ने वा नगर्ने भन्नेमा सञ्चालक र अभिभावक अन्योलमा छन् ।

कोभिड– १९ को जोखिम बढेसँगै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा समेत निकै कमी आएको छ । केही शैक्षिक संस्थाले वैकल्पिक विधिबाट पठनपाठन सुरु गरेका छन् । कतिपयले कहिले सिफ्टमा फेस टु फेस कक्षा र कहिले अनलाइन कक्षा सुरु गरेका छन् ।

पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले त्रासका कारण विद्यालयमा विद्यार्थी संख्या घटेको र विद्यालय सञ्चालनका सम्बन्धमा जिम्मेवारी लिएर निर्णय नगर्दा अन्योल बढेको बताए । ‘जिम्मेवारी कसैले नलिएर एकले अर्कोलाई देखाउने काम भइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले शिक्षालाई देखाएको छ, शिक्षा मन्त्रालयले स्थानीय तहले निर्णय गर्न सक्ने जनाएको, तर स्थानीय तह केन्द्रको निर्णयको पर्खाइमा छन् ।’

काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रमा अहिले पनि अधिकांश विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि विद्यार्थी संख्या कम हुँदै गएको छ । कतिपय विद्यालयले लिएको परीक्षामै पनि विद्यार्थी अनुपस्थित भएका छन् । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले फेस टु फेस कक्षा सञ्चालन भए पनि १० देखि १५ प्रतिशत विद्यार्थी कम भइसकेको बताए ।

पद्मोदय माविमा समेत विद्यार्थी संख्या निकै कम भएको थियो । सामान्य अवस्थामा ४०–५० जना हुने कक्षामा पछिल्ला दिनमा १०–१५ जनाको मात्र उपस्थिति हुने गरेको छ । अहिले एकजना विद्यार्थीमा कोभिड– १९ संक्रमण देखिएपछि एक साताका लागि फेस टु फेस कक्षा बन्द गरी अनलाइन सुरु गरिएको छ । अनलाइन कक्षामा आधा विद्यार्थी पनि सहभागी छैनन् ।

कतिपय अभिभावकले फोन गरेर आफ्ना छोराछोरी विद्यालय पठाउन नसकिएको जानकारी गराउन थालेका छन् । ‘सरकारबाट ठोस निर्णय नआउँदा अन्योल भयो, शिक्षा, स्वास्थ्य मन्त्रालय र स्थानीय तहका छुट्टाछुट्टै धारणा छन्, हामी द्विविधामा छौँ ।’ विश्व निकेतन माविले अहिले जोर र बिजोर रोल नम्बरका विद्यार्थीलाई फरक–फरक दिन विद्यालय बोलाएर कक्षा सञ्चालन गरेको छ ।

शिक्षामन्त्री शैक्षिक संस्था बन्द गर्ने पक्षमा देखिएका छैनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक कार्यक्रममा शैक्षिक संस्था बन्द भएमा विद्यार्थी खेल्न जाने बताए । उनले बाहिर खेल्न जानुभन्दा विद्यालयमै विद्यार्थी सुरक्षित भएको दाबी गरेका छन् ।

स्थानीय तहले ठोस निर्णय गर्न सकेनन्
स्थानीय तहसमेत केन्द्रको निर्णयको पर्खाइमा छन् । ललितपुर महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले अहिले के गर्ने भन्नेमा अन्योल सिर्जना भएको बताए । ललितपुर महानगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र कोभिड– १९ संक्रमित भेटिएका विद्यालय परिस्थिति हेरेर बन्द गर्न आग्रह गरेको महानगरका शिक्षा प्रमुख क्षेत्रीले बताए ।

‘हामीले परिस्थिति हेरेर अर्को निर्णय नहुन्जेल स्वास्थ्यका मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गर्न भनेका छौँ,’ उनले भने, ‘कोभिड देखिएका विद्यालयमा विद्यार्थीको सेक्सन मात्र होइन विद्यालय नै बन्द गर्नुपर्छ ।’ विद्यार्थीलाई कोभिड संक्रमणबाट जोगाउन विद्यालय बन्द गर्नु मात्रै विकल्प नभएको उनको धारणा छ । विद्यालय बन्द गरेर अभिभावक डुल्ने, घुम्ने, सपिङ गर्न हिँड्ने हो भने अभिभावकबाटै पनि जोखिम हुने भएकाले अरू क्षेत्र पनि बन्द गर्नुपर्ने उनले तर्क गरे ।

काठमाडौंमा कोभिड– १९ देखिएका शैक्षिक संस्थाले समेत चरम लापरबाही गरेका छन् । कोभिड देखिएका विद्यालयसमेत भौतिक रूपमा पठनपाठन बन्द नगरी सञ्चालन भइरहेका छन् । काठमाडौं महानगरपालिकाले कुनै पनि विद्यार्थीलाई कोभिड– १९ को संक्रमण भएको पाइएमा विद्यालयका सबै कार्यक्रम एक साताका लागि बन्द गर्नुपर्ने निर्णय गरेको छ ।

निजी शैक्षिक सञ्चालक वैकल्पिक विधिका लागि भएनन् तयार

निजी शैक्षिक सञ्चालक अहिले फेस टु फेस कक्षा बन्द गर्न तयार छैनन् । दुई सातामा पठनपाठन र परीक्षा सकेर विद्यालयमा भौतिक कक्षा बन्द गर्नुपर्ने तर्क छ । हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले संक्रमण रोक्नका लागि विद्यालय बन्द गर्नु अन्तिम उपाय नभएको दाबी गरे ।

समस्या भएका ठाउँमा बन्द गरेर अन्य ठाउँमा एक–दुई साता चलाएर बन्द गर्नु उपयुक्त हुने उनको भनाइ छ । केही समयपछि वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्दा राम्रो हुने बताए । उनले भने, ‘एक–दुई सातामा यो शैक्षिक सत्र सकिन्छ अनि केही समय वैकल्पिक विधिबाट पठनपाठन गर्न सकिन्छ, अनलाइन माध्यमबाट पठनपाठनलाई प्रोत्साहन गर्नुपर्छ ।’

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जहाँ संक्रमण फैलिएको छ त्यो ठाउँमा भौतिक कक्षा बन्द गर्नु उपयुक्त हुने बताए । अध्यक्ष पुरीले भने, ‘विद्यालय कहाँ बन्द गर्ने वा कहाँ सञ्चालन गर्ने भन्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ । पालिकाले परिस्थिति हेरेर निर्णय गर्छन् ।’ शिक्षा मन्त्रालयले स्थानीय तहले अवस्था हेरेर गर्न सक्ने निर्णय नै उपयुक्त रहेको उनको तर्क छ ।

उच्च जोखिम भएका स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गर्न सिसिएमसीको सिफारिस
कोभिड– १९ संक्रमित उच्च जोखिम भएको स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गराउन कोभिड– १९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० ले सिफारिस गरेको छ । काठमाडौं उपत्यकालगायत ठाउँमा कोभिड संक्रमित धेरै बढेपछि सिसिएमसीले सरकारलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सिफारिस गरेको हो ।

शनिबार बसेको सिसिएमसी बैठकले शिक्षा र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहित छलफल गरेको थियो । शिक्षा र स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्था सञ्चालनका विषयमा छुट्टाछुट्टै धारणा सार्वजनिक गर्दै आएका छन् । यसले भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा अन्योल भएको छ ।

सिसिएमसीका एक सदस्यका अनुसार काठमाडौंसहित केही स्थानमा संक्रमित संख्या धेरै बढेको र यस्ता स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गराउन सिफारिस गरेको बताए । उनले भने, ‘अहिले सबैभन्दा धेरै केस काठमाडौंमा देखिएका छन् । काठमाडौंसहित धेरै केस भएका स्थानमा वैकल्पिक विधिबाट पठनपाठन गर्न सिफारिस भएको छ, के गर्ने भन्ने मन्त्रिपरिषद्ले निर्णय गर्छ ।’

शिक्षा र स्वास्थ्य मन्त्रालयले छुट्टाछुट्टै अपिल गर्दा शैक्षिक संस्था सञ्चालन गर्ने वा नगर्ने भन्नेमा शैक्षिक संस्था सञ्चालक र अभिभावकसमेत अन्योलमा छन् । केही स्थानीय तहले छुट्टाछुट्टै निर्णयसमेत गर्न थालेका छन् । शिक्षा मन्त्रालयले उच्च जोखिम भएका जिल्ला, सहर वा स्थानविशेषमा जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०को समन्वयमा स्थानीय तहको निर्णयअनुसार विद्यालय बन्द वा सुचारु गर्न आग्रह गरेको छ । विद्यालय पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ अनुसार गर्नसमेत मन्त्रालयको आग्रह गरेको छ ।

शुक्रबार शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्रेस विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन् । शिक्षा मन्त्रालयले शैक्षिक संस्था सञ्चालन गर्दा भिडभाड नहुने गरी विद्यार्थीको संख्या एवं पूर्वाधारअनुसार स्थानविशेषको संक्रमणको अवस्था विश्लेषण गरी आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाएर सिकाइ गतिविधि गर्न आग्रह गरको छ ।

कोरोनाको उच्च जोखिम भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार १४ जिल्लामा विद्यालय नजान विद्यार्थीलाई आग्रह गरेको थियो । कोभिड– १९ को संक्रमण देशभरि बढेपछि मन्त्रालयले गत २५ चैतमा नै कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी० मा तीन साता शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेको थियो ।

नेपालमा कोरोनाले आफ्नो स्वरूप परिवर्तन गरेपछि ८ चैतयता तीव्र रूपमा संक्रमण फैलिएको छ । नेपालमा युके भेरियन्ट तीव्र गतिमा फैलिएको छ । यसबाट संक्रमित हुने बालबालिकाको संख्या बढेको छ । संक्रमणका आधारमा स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई उच्च जोखिममा राखी ती जिल्लामा विद्यालयलगायत क्षेत्रमा भिडभाड नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले अति जोखिममा राखेका जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् । ६० भन्दा माथि सक्रिय संक्रमित भए त्यस्ता जिल्लालाई मन्त्रालयले अति जोखिममा राखेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्