कोरोनाको कहर, एक साताको लकडाउन

काठमाडौँ , बैशाख ६ । भारतमा कोरोना महामारी बढ्दै गएपछि राजधानी दिल्लीमा एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले संक्रमणको चेन तोड्न लकडाउन लगाउनु परेको जानकारी दिएका छन् । दिल्लीमा आज रातीदेखि १० बजेदेखि अर्को सोमबार विहान ६ बजेसम्म लकडाउन लागु हुने भएको मुख्यमन्त्री केजरिवालले घोषणा गरेका छन् ।

उनले अत्यावश्यक बाहेक अन्य सबै क्षेत्र बन्द हुने जानकारी दिदै विवाहको सिजन भएकाले विवाह गर्न बढीमा ५० जनालाई अनुमति दिने र विशेष पासको व्यवस्था गरिने बताएका छन् ।

मुख्यमन्त्री केजरिवालले प्रवासी कामदारहरुलाई दिल्ली नछोड्न अपिल गर्दै यो ६ दिनमा ठुलो स्तरमा बेडको व्यावस्था गरिने र स्वास्थ्य संकटबाट बाहिर निस्किने बताएका छन् ।

उनले आफुलाई भरोसा गर्न र लकडाउनको पूर्ण पालना गर्न अपिल गरेका छन् ।दिल्लीमा पछिल्लो २४ घण्टामा २५ हजार संक्रमण पुष्टि भएको मुख्यमन्त्री केजरिवालले जानकारी दिएका छन् । त्यस्तै १४१ जनाको मृत्यु भएको छ ।

भारतमा महाराष्ट्र, दिल्ली, उत्तरप्रदेश, कर्नाटका लगायतका राज्यमा कोरोनाको संक्रमण अत्याधिक देखिएको छ । पुरै भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार संक्रमित देखिएका छन् भने १६१९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्