अस्पताल डुलाउँदा डुलाउँदै कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, बैशाख ६ । एक कोरोना संक्रमित महिलाको अस्पताल चहार्दा चहार्दै ज्यान गएको छ । विराटनगरका अस्पताल डुलाउँदा डुलाउँदै उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी ३५ वर्षीय जैनव खातुनको आज बिहान मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार बिहान करिब ३ बजे विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सीबाट आईसीयूमा ‘सिफ्ट’ गर्नुअघि एण्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना गर्न मानेन ।

आफन्तले गोल्डेन अस्पतालबाट बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज करिब ८ किलोमटर टाढा विराट मेडिकल कलेज पुर्‍याए । तर अस्पतालले भर्ना लिन मानेन । ‘अवस्था गम्भीर भएकाले हतार–हतार गर्दै सुरुमा गोल्डेन लग्यौं । एण्टीजेन पोजेटिभ देखिएपछि गोल्डेनले फर्कायो,’ एम्बुलेन्स चालक राजा मियाले भने, ‘विराटले पनि भर्ना गर्न मानेन, त्यहाँबाट कोशी अस्पताल लग्यौं ।’

कोशी अस्पताल पुर्‍याउँदा करिब साढे ४ बजेको थियो । तर एण्टीजेन पोजेटिभ केस भन्दै अस्पतालले आइसोलेसनमा राख्यो र पीसीआर परीक्षण नगरी उपचार शुरु नहुने बतायो । आफन्तले विरामीलाई लिएर नोबेल मेडिकल कलेज पुर्‍याए ।

कोशी अस्पताल लैजानु अघि सम्पर्क गर्दा म्याक्स अस्पतालमा सम्पर्क गरे, तर फोनमै विरामी नल्याउन भनियो । त्यसपछि नोबेल पुर्‍याए । तर एण्टीजेन पोजेटिभ भएको जानकारी पाएपछि नोबेल मेडिकल कलेजले पनि आईसीयू छैन भन्दै विरामीलाई फर्कायो । आफन्तले पुनः कोशी अस्पतालमा लगे ।

त्यसबेला बिहान ६ बजिसकेको थियो ।आइसोलेसनमा राखेर उपचार शुरु गर्दैगर्दा महिलाको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा। चुमनलाल दासले बताए ।

अस्पतालमा ल्याउँदा विरामीमा अक्सिजन लेभल कम देखिएको थियो । ‘सामान्य अवस्थामा अक्सिजन लेभल ९० प्रतिशत हुनुपर्छ तर बिरामीमा ६० प्रतिशत मात्रै थियो,’ उपचारमा खटिएका एक चिकित्सकले भने,‘अक्सिजन दिएर उपचार शुरु गर्दैगर्दा उहाँको मृत्यु भयो ।’ यसरी संक्रमितले समयमै उपचमर नपाउँदा ज्यान गुमाउन पर्यो ।

प्रतिक्रिया दिनुहोस्