प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष सिटौलाद्वारा पदभार ग्रहण

काठमाडौँ , बैशाख ६ । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन् ।

यही बैशाख ५ गते एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सिटौलाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

आजै बसेको बैंकको सञ्चालक समितिको २०९औं बैठकको निर्णयअनुसार उनले पदभार ग्रहण गरेका हुन् । बैंकको स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त भएका उनलाई यही बैशाख २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो समयको अनुभव सङ्गालेका छन् ।

नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका अध्यक्ष सिटौलाले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा समेत जिम्मेवारी वहन गरेका थिए ।

उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि बिकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उहाँको विशेष योगदान रहेको थियो ।

उक्त अवधिमा उनले नेपालका वाणिज्य बैंकहरुको छाता सङ्गठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही काम गरेका थिए । त्यस्तै उनले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर काम गरिसकेका छन् ।

नेपालको बैंकिङ्ग क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ्ग जगतका विविध क्षेत्रमा अनुभव हासिल गरेका सिटौलाको अध्यक्षको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय रहेको प्रभु बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्षको सबल नेतृत्वबाट प्रभु बैंकलाई आगामी दिनमा ब्यापार व्यवसाय अभिबृद्धिका अतिरिक्त अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्