आजदेखि कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै, यी हुन् खोप केन्द्र

काठमाडौं, बैसाख ७ । नेपालमा आजदेखि कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै छ । माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिइनेछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले वैशाख ११ गतेसम्ममा ४ लाख ३८ हजारलाई दोस्रो मात्रा कोभिसिल्ड खोप लगाइने जानकारी दिएका छन् । पहिलो चरणमा सरकारले अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाएको थियो । उनीहरुलाई नै दोस्रो मात्रा खोप दिइन लागिएको हो ।

उनले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई पुरानो खोप कार्ड र परिचय झल्कने अन्य कार्डसहित दोस्रो मात्रा खोप लगाउन सकिने जनाए । ‘पहिलो डोजले केही मात्रामा मात्रै काम गर्छ । दोस्रो डोज थपेपछि यसले ७२ देखि ८० प्रतिशतमा काम गर्छ,’ गौतमले भने, ‘एक डोज मात्रै लगायो भने एन्टिबडी केही महिनामा हराएर जान्छ । पहिलो डोज लगाएकाले दोस्रो डोज लगाएन भने कोभिड लाग्ने सम्भावना बढेर जान्छ । त्यही भएर दोस्रो लगाउनु पर्छ ।’

पाँच दिन चल्ने दोस्रो मात्राको खोप अभियानमा मन्त्रालयले माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते खोप लगाउने तालिका बनाएको छ । यस्तै माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले १० गते तथा माघ ३०, फागुन ७ र १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउने तालिका बनाइएको छ ।

खोप अभियान अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा, स्वास्थ्य कार्यालय ललितपुरले ११ वटा र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ ।

मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न २० केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा दोस्रो डोज खोप लगाइने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज, क्षेत्रपाटी निशुल्क चिकित्सालय, हिमाल अस्पताल, जनमैत्री अस्पताल, स्तुपा अस्पताल, मदरल्यान्ड अस्पताल र ह्याम्स अस्पतालमा पनि दोस्रो डोज खोप लगाइने छ । खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्