जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याइँ गरे लकडाउन : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं , बैशाख ७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याइँ गरे सरकार कठोर कदम उठाउन बाध्य हुने चेतावनी दिएका छन्।

मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले यस्तो चेतावनी दिएका हुन् । यदि कसैले जनस्वास्थ्यको मापदण्डविपरीत कार्य गरेमा सरकार लकडाउनको अवस्थामा पुग्न बाध्य हुने उनले बताए ।

मन्त्री त्रिपाठीले भने, ‘हामी भरसक नेपाललाई लकडाउनको अवस्थामा पुर्‍याउँदैनौं, तर हेलचेक्र्याइँ गरे नचाहँदा नचाहँदै पनि हामी कठोर कदम उठाउन बाध्य हुनेछौं ।’ साथै उनले महामारीको यो लहरलाई हलुका ढंगले नलिनसमेत आग्रह गरेका छन् ।

संक्रमणको दर बढ्दै गएकाले स्थिति गम्भीर हुनेतर्फ अगाडि बढेको भन्दै मन्त्री त्रिपाठीले महामारीलाई परास्त गर्नका लागि सहयोग गर्न समेत आह्वान गरेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्