विदेश जानलाई नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोह पक्राउ , १३६ यात्रु विमानस्थलबाट फर्काइयो

काठमाडौं , बैशाख ८ । वैदेशिक रोजगारका शिलशिलामा खाडी मुलुक हिँडेका १३६ जना युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काइदिएको छ । सिनामंगलस्थित सुरिया हेल्थकेयरमा परीक्षण गराएको पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका उनीहरुलाई फर्काइदिएको हो ।

विभिन्न देशमा जानका लागि सुरिया हेल्थकेयरको ल्याबमा पीसीआर परीक्षण गराएका यात्रुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको अध्यागमन विभागले जनाएको छ । फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेका छन् ।

नक्कली पीसीआर रिपोर्ट बनाएको आशंकमा सूर्या हेल्थ केयरमा महानगरीय अपराध महाशाखाले मंगलबार छापा मारेको थियो। विदेश जानेबाट चर्को मूल्य लिएर पीसीआर रिपोर्ट नक्कली बनाएको आरोपमा सूरियामा छापा मारिएको थियो।

फर्काइएकाहरुमा आधा नेपाली र आधा भारतीय रहेको बताइएको छ। मंगलबार महानगरीय अपराध महाशाखाले छापा मारेर प्रयोगशालाका ८ कर्मचारी पक्राउ गरेको थियो।सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा. सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर उक्त नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट बनाएर अत्यधिक रकम लिइ नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले उनीहरुसहित आठजनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिबाट जारी भएका स्वाब सङ्कलन तथा परीक्षण नै नगरी ‘पीसीआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्टसहित उनीहरुलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा झापा गौरादह घर भई हाल पेप्सीकोला बस्ने ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङ विराटनगरका वजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंह रहेको प्रहरीले जनाएको छ ।

त्यहाँबाट रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको महाशाखाले जनाएको छ ।
उनीहरुले प्रतिव्यक्ति रु नौ हजार लिई नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ । पछिल्लो समय कोरोना बढेकाले विमानस्थलमा कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्