धरहरामा राखियो गजुर, ११ गते प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं, बैशाख ८ । धरहरामा गजुर राख्ने काम सम्पन्न भएको छ । पुनर्निर्मित धरहरामा बुधबार पूजाआजासहित गजुर राखिएको हो ।

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुन: निर्माणपछि टुप्पोमा गजुर राखिएको हो । अब वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।

धरहराको टुप्पामा ३३० केजीको सुनको जलप लगाएको गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले बताए ।

भूकम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बने पनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्