आज पनि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

काठमाडौं, बैशाख ९ । सत्तारुढ नेकपा–एमालेभित्र अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीच तीव्र शक्ति संघर्ष चर्किरहेका बेला बुधबार दुई शीर्ष नेताबीच नै भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रम आज पनि रहेने भएको छ । उनीहरुबीच आज दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो ।

हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि होटल मेरियटमै भेटवार्ता हुन लागेको बताएको छ ।

पछिल्लो समय एमाले भित्रका आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला यस भेटवार्ताले सकारात्मक माहोल बनेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।दुवै नेताबीचको भेटवार्तालाई लिएर एमाले नेता कार्यकर्ता पक्तिमा पनि उत्साह देखिएको छ ।

अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका प्रतिनिधीसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ सांसद गरी ३२ सांसदलाई पार्टीबाट निष्काशित गर्ने चेतावनीसहित स्पष्टीकरण साधेको भोलीपल्टै भएको ओली र नेपालबीच भेटवार्तालाई एमालेको विवादलाई समाधान गर्ने तर्फ सकारात्मक पहलका रुपमा लिइएको छ ।

उनीहरुको पछिल्लो भेटले फूटको डिलमा पुगेको एमाले नयाँ शिराबाट अघि बढने अपेक्षा कार्यकर्ताहरूले गरेका छन् । सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले ब्युँताएपछि पार्टी भित्रको ओली पक्ष र नेपाल नेतृत्वको समूहबीच तीक्तता झन् बढेपछि आपसमा छलफल तथा भेटघाट समेत बन्द थियो।

प्रतिक्रिया दिनुहोस्