कोरोनाको त्रास : फेरि बन्द भए सबै सिनेमा हल

काठमाडौं, बैशाख ९ । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने आदेश दिएको छ । सो आदेशसँगै बुधबारबाट सिनेमा हल बन्द भएका छन् । यसरी सिनेमा हल बन्दगर्नुपरेपछि नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् ।

नयाँ वर्षको अवसर पारेर नयाँ नेपाली चलचित्र रिलिज हुने क्रम सुरु भएको थियो । जसका कारण फिल्म हल सञ्चालक र निर्माताले केही राहतको महसुस गरेका थिए । त्यो राहत क्षणिक सावित भएको छ । अब कहिलेसम्म कोभिडको लहर चल्ने हो भन्ने चिन्तामा उनीहरू छन् ।

सिनेमा हलको छाता संस्था नेपाल चलचित्र संघका अध्यक्ष तथा काठमाडौंको बौद्धस्थित सिद्धार्थ सिनेमा हलका सञ्चालक मधुसुदन प्रधानले सरकारको निर्देशनअनुसार आफूहरूले मंगलबारबाट सिनेमा हल बन्दको निर्देशन दिएको बताएका छन् । बुधबारबाट सबै सिनेमा हल पूर्णरूपमा बन्द भएको पनि उनले बताएका छन् ।

मुलुकमा १ सय ९० वटा सिनेमा हल सञ्चालनमा थिए । जसमध्ये गत माघबाट २० प्रतिशत हल खुलेका थिए । नयाँ वर्षको अवसर परेर मुलुकका विभिन्न मल्टिप्लेक्ससहित करिब ५० प्रतिशत सिनेमा हल सञ्चालनमा आएका थिए । ती सबै हल बुधबारबाट पूर्णरूपमा बन्द भएको पनि अध्यक्ष प्रधानले जानकारी गराएका छन् ।

सिनेमा हल बन्द भएको अवस्थामा पनि हल भाडा तिर्नु पर्ने भएकाले अब हल फेरि लामो समय बन्द हुँदा कसरी हल भाडा, बिजुलीको बिल तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

पछिल्लो महिनाबाट भारतमा सुरु भएको कोरोनाको दोस्रो लहरको् प्रभाव नेपालमा पनि परेको छ । काठमाडौं उपत्यका र देशका मुख्य सहरमा चार दिन यताबाट कोरोनाको संक्रमण ह्वात्तै बढेपछि आफूहरूले हल बन्द गर्नुपरेको पनि अध्यक्ष प्रधानले जानकारी गराए ।

पटक–पटक कोरोनाको महामारी आउन थालेपछि सिनेमा हलको भविष्य संकटमा पर्न थालेको भन्दै सबै कलाकारदेखि लिएर संचालकहरुमामा निराशा छाएको छ ।

प्रतिक्रिया दिनुहोस्