सकियो एमाले अध्यक्ष ओली र नेता नेपालको भेटवार्ता , के भयो कुराकानी ?

काठमाडौं, बैशाख ९ ।एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको वार्ता फेरि निष्कर्षविहीन भएको छ ।

नागपोखरीस्थित होटेल मेरियटमा ओली र नेपालबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्तामा कुनै प्रगति नभएको नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ओली र नेपाल दुवै एकताका लागि सकारात्मक रहेको उनले बताए ।

ओली र नेपालबीच बुधबार पनि भेटवार्ता भएको थियो । बुधबारको वार्तामा दुवै नेताले आ–आफ्ना अडान राखेका थिए । थप गृहकार्यपछि बिहीबार पुनः वार्ता गर्ने गरी ओली र नेपाल बाहिरिएका थिए ।

ओली र नेपाल आफूपक्षीय नेताहरूसँग छलफल गरेर पुनः वार्तामा बसेका हुन् । २ फागुन ०७५ मा फर्कनुपर्ने नेपालको प्रस्तावलाई बुधबारको छलफलमा ओलीले अस्वीकार गरिदिएका थिए ।

पछिल्लो समय नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुलाई धमाधम कारबाही गरिरहेका छन्।

नेपाल–खनाल समूहले भने देशभर पार्टीका समानान्तर कमिटीहरु गठन गरिरहेको छ। बिहीबार नै माधव नेपाल र झलनाथ खनालसहित उनी पक्षीयका नेताहरुले अध्यक्ष ओलीलाई स्पष्टीकरण बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्