सर्वोच्चमा माधव नेपालसहित चार सांसदको रिट दर्ता, आइतबार पेसी

काठमाडौं, बैसाख ९ । सर्वोच्च अदालतमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार सांसदको रिट दर्ता भएको छ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गर्न सक्ने भन्दै उनीहरुले सोविरुद्ध सर्वोच्च अदालतमा हिजो पेस गरेको रिट निवेदन आज दर्ता भएको हो ।

रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । रिटमा अध्यक्ष ओली, निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाइएको छ । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालद्वारा दायर उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निष्कासन गर्न खोजेको उल्लेख छ ।

२८ फागुन, ७ चैत र ६ वैशाखमा गरेको भनिएको निर्णय, त्यसआधारमा गरिएको र गर्न लागिएको कारबाही, विधान संशोधन लगायतका कारबाही गैरकानूनी र दूराशयपूर्ण भएको दाबी गर्दै त्यसलाई बदर गर्न र सर्वोच्चको फैसला बमोजिम एमाले पार्टी, त्यसको विधान र नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमा परमादेश माग गरिएको छ ।

गैरकानूनी र अनधिकृत निर्णयको आधारमा २७ जना प्रतिनिधिसभा सदस्यहरुलाई स्पष्टीकरण सोधिएको भन्दै नेपाल समूहका नेताहरुले रिटमा भनेका छन्, ‘पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेको भनी कारबाही गर्न सक्ने पूर्ण आशंका भएकाले त्यस्तो कार्य प्रतिषेधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेश समेत जारी गरिपाउँ ।’

प्रतिक्रिया दिनुहोस्