आजदेखि पशुपतिमा भक्तजनले पूजा गर्न नपाउने

काठमाडौं, बैशाख १० । पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले विज्ञप्ति जारी गर्दै आजदेखि लागु हुने गरी अर्को निर्णय नआउन्जेल भक्तजनले पूजा गर्न नपाउने जानकारी दिए ।

‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि सक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गर्दै भोलिबाट अर्को व्यवस्था नभएसम्मको लागि भक्तजनको लागि मन्दिर बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्