तीन भारतीय कोरोना संक्रमित एम्बुलेन्सबाटै हामफालेर भागे

काठमाडौं, बैशाख १० । कैलालीको धनगढीमा कोरोना पोजेटिभ रिपोर्ट आएका तीन भारतीय नागरिक आइसोलेसनमा लैजाने क्रममा एम्बुलेन्सबाटै हामफालेर भागेका छन् ।

भारतको पलिया र लख्खीमपुरबाट आएका उनीहरुलाई धनगढी उपमहानगरपालिका–१५ मा रहेको आईसोलेसनमा लैजान खोज्दा एम्बुलेन्सबाटै हामफालेर कनरी जंगल हुँदै भागेको हुन् ।

उनका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिन पुलको वारीतर्फ नै एम्बुलेन्स रोकेको समयमा ती संक्रमित भागेका कैलालीको त्रिनगर भन्सार नाकास्थित हेल्थ डेस्कका इञ्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि काम गर्ने बहानामा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्ने क्रम बढेको छ । सीमा नाकामा कडाइ नहुँदा भारतीयहरु धमाधम नेपाल प्रवेश गरिरहेका छन् ।

सोही क्रममा कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश गरेका ९ भारतीय नागरिकमाथि शंका लागि एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पाइएको थियो । हेल्थ डेस्कका ईन्चार्ज दिनेश ठकुल्लाका अनुसार उनीहरु कैलालीको गोदावरी नगरपालिकामा काम गर्न भन्दै त्रिनगर भन्सार नाकाबाट प्रवेश गरेका थिए ।

त्रिनगर भन्सार नाकाबाट बुधबार र बिहीबार मात्र एक हजार ४६५ जना नेपाल प्रवेश गरेका छन् । तीमध्ये ७८५ जनाको एन्टीजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पोजेटिभ देखिएको ठकुल्लाले बताए । उनका अनुसार संक्रमित हुनेमा १० जना महिला र १०९ जना पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्