सर्लाहीमा पेस्तोलसहित १ जना पक्राउ

काठमाडौं, बैशाख १० । सर्लाहीको बाँके जङ्गलबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ का ३२ वर्षीय त्रिभुवन बैठालाई हतियारसहित पक्राउ गरेको हो ।

बाँके जङ्गलस्थित ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर चोकमा बीआर ३० जेड ६५४८ नम्बरको भारतीय मोटरसाइकल रोकेर खानतलासी लिँदा चालक बैठाको साथबाट मेडइन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा लाग्ने चार राउण्ड गोली र एक थान म्यागजिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार व्यक्ति भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्