सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा छैन: प्रवक्ता ज्ञवाली

काठमाडौं, बैशाख १२ । सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ। एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल लकडाउन गर्ने योजनामा नरहेको बताएका छन् ।

उनले सत्तारुढ दल एमालेको बैठकपछि भने ‘अहिलेको आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकल पालना गर्नुस् मात्रै भन्छौं,’ , ‘लकडाउनले केहि दिनका लागि चेनब्रेक मात्र गर्छ, यसले धकेल्ने मात्र हो र आफैंमा समाधान होइन।’

अर्थतन्त्र पनि भर्खर तङरिन लागिरहेको हुँदा सकभर अर्थतन्त्र र मानिसहरुको जीविकामा प्रतिकूल असर नपरोस् भन्ने सरकारको चाहना रहेको उनले बताए।

‘हटस्पटहरुमा आंशिक लकडाउन हुनसक्छ र त्यो स्थानीय तहमा मात्र हुन्छ, देशव्यापी होइन,’ ज्ञवालीले भने। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै देशभर लकडाउन आवश्यक नभएको बताएका छन् ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अहिले नै देशभर लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्