गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस

काठमाडौं, बैशाख १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेस गरिएको छ ।

प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक प्रारम्भ भएलगत्तै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन् ।

सम्बोधनको शुरुमै उनले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले स्व, अधिकारीको वार्षिक पुण्य तिथिका अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

बैठकमा उनले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्ने कारणबारे आफ्ना धारणा राखेका छन् । प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

सो प्रस्तावमा पोखरेललाई नयाँ मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ । सो प्रस्तावमा तीन पार्टीका २८ सांसदले हस्ताक्षर गरेका छन् ।

३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा समर्थन गर्ने जनाएको छ । ६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्