कडा लकडाउन गरेर नागरिकलाई घर जानका लागि दुई दिनको समय दिइने

काठमाडौं, बैशाख १३ । सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताएका छन् ।

सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो।

कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दापनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पनि बताए।

लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भएपनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ।

त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाइ रहेको छ । यस बारे थप निर्णय साँझ बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने भएको छ ।

आन्तरिक उडान बन्द गर्ने सरकारको तयारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान बन्द गर्ने विषयमा छलफल गरेको छ।प्राधिकरणले कोरोना फैलिनसक्ने भन्दै विभिन्न ठाउँमा लकडाउन तथा निषेधाज्ञा भएको जनाउँदै आन्तरिक उडान केही समय बन्द गर्ने विषयमा छलफल अगाडि बढाएको हो।

प्राधिकरणका एक उच्च अधिकारीले सोमबार दिउँसो बसेको प्राधिकरणको ‘म्यानेजमेन्ट टिम’ले अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने र आन्तरिक उडान बन्द गर्ने विषयमा छलफल गरेको छ।

‘काठमाडौं उपत्यकामा लकडाउन वा निषेधाज्ञा हुने भएको छ’, प्रधिकरणका ती अधिकारीले भने, ‘केही समयका लागि आन्तरिक उडान बन्द हुने देखिएको छ।’

आइतबार मात्रै त्रिभुवन विमानस्थलले वायुसेवा कम्पनीसँग हवाइ उडान कटौती गर्ने विषयमा छलफल गरेको थियो। तर व्यवसायीले उडान कटौती गर्न नहुने भन्दै बैठकबाट बाहिरिएका थिए।

अन्तर्राष्ट्रिय उडानमा भने नेपाल–भारत उडानमात्रै सीसीएमसीले बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ।

हवाइ सेवा कम्पनीका अनुसार पछिल्लो २/३ दिनयता काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौं उपत्यका छाड्नेको संख्या वृद्धि हुनथालेको छ।

 

प्रतिक्रिया दिनुहोस्