महासंघले भन्यो – पत्रकारलाई ननिकाल, पूरै पारिश्रमिक देऊ

काठमाडौं, बैशाख १४ । नेपाल पत्रकार महासंघले कोरोना महामारीका बेला श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानलाई राहत र सहुलियतका व्यवस्था गर्न माग गरेको छ। महासंघले मंगलबार अपिल जारी गर्दै सरकारसँग यस्तो माग गरेको हो।

अपिलमा भनिएको छ, ‘सूचना प्रवाहको दायित्व पूरा गरिरहेका सञ्चारमाध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक साधनमा आवश्यक सहुलियत दिन महासंघ सरकारसँग माग गर्दछ।’ महासंघले कोरोना सक्रमण भई उपचार आवश्यक भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्ड अवलम्बन गर्न सबै पत्रकारमा अपिल गरेको छ।

अपिलमा भनिएको छ, ‘अग्रपंक्तिमा काम गर्ने पत्रकारका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन तथा घरबाटै काम गर्ने वातावरण बनाउन सञ्चार गृहलाई पनि आग्रह गर्दछ।’

साथै, कारोना संक्रमणले उत्पन्न गराएकोे अवस्थाको बहाना बनाई श्रमजीवी पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता कार्य नगर्न तथा पत्रकारको बक्यौता रकम तत्काल भुक्तानी दिन महासंघले आग्रह गरेको छ।

साथै, महासंघ कोरोना सक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाका व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ।

कोरोनाले गर्दा कतिपयले पत्रकारलाई पारिश्रमिक नदिने र निकाल्ने गरेका छन् । गएको वर्षमा धेरैले यस्तो गरेका थिए । यस कारण पनि महासंघले ध्यानाकर्षण गराएको हो । धेरे पत्रकारको कोरोनाले जागीर गुमेको थियो ।

प्रतिक्रिया दिनुहोस्