कोरोना त्रासः : आज पनि उपत्यका छाड्नेहरुको बसपार्कमा भिड, ५ लाखभन्दा धेरै बाहिरिए

काठमाडौं, बैशाख १५ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज पनि देखिएको छ ।

भोलि देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरू नयाँ बसपार्क पुग्दा भिड बढेको हो । भिड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरूले गरेका छन् ।

बुधबार पनि गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिड लागेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि जारी गरिएको निषेधाज्ञा लामो समयसम्म रहने आशंकासहित मानिसहरू घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भिड बढेको हो ।

भिड बढेसँगै लामो दूरीका सार्वजनिक यातायातमा टिकट नपाएको गुनासो यात्रुहरूले गरेका छन् । लामो दूरीका सवारीसाधन थोरै भएका कारण नयाँ बसपार्कमा टिकट अभाव भएको हो । टिकट पाएकाले पनि महँगो शुल्क तिर्नुपरेको गुनासो गरेका छन् ।

उपत्यकामा रहेका मानिसलाई आफ्नो गाउँ फर्किन सरकारले दुई दिनको समय दिएका कारण सोमबार यता ५ लाखभन्दा धेरै मानिसले काठमाडौं उपत्यका छाडिसकेका छन् ।

आकस्मिक बाहेकका क्षेत्रहरुलाई बन्द गर्ने सरकारको निर्णयका कारण यी क्षेत्रसँग संलग्न रहेका तथा यी क्षेत्रमा काम गर्ने प्रायः मानिसहरुले काठमाडौं छाडिरहेका छन् । अघिल्लो पटक सरकारले एक सातालाई गरेको लकडाउन बढाएर महिनौंसम्म पुर्‍याएजस्तै यसपटक पनि हुने उनीहरुलाई डर छ ।

प्रतिक्रिया दिनुहोस्