कोरोना संक्रमण नियन्त्रण बाहिर जान थाल्यो , नेपाल-भारत सीमा नाका बन्द गर्ने तयारी

काठमाडौं। भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको संक्रमण फैलिएपछि नेपाल (भारत सीमा नाका सबै बन्द गर्ने तयारी भएको छ। भारतबाटै संक्रमण नेपालमा फैलिएको भन्दै सरकारले नेपाल भारत सबै नाका बन्द गर्ने तयारी गरेको हो।

विभिन्न कामले भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको गड्डा चौकी, बाँकेको जमुनाहा नाका भैरहवाको सुनौली नाका तीन दिन अघिबाटै कडाई हुन थालेको थियो। सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरीले सबै नाकामा आवतजावतलाई कडाई गर्न निर्देशन दिएको थियो।

जमुनाहा नाकामा नेपाली र भारतीय स्वास्थ्यकर्मीले गरेको कोरोना परीक्षण रिपोर्टका आधारमा विगत चार दिनदेखि नेपाल पठाउने गरेका छन्। पर्साको रक्सौल, विराटनगर तथा काकडभिट्टा नाकाबाट अत्यावश्यक सामाग्री बोकेका सवारी साधानबाहेक अन्य सवारी साधानलाई प्रवेश निषेध गर्न थालिएको छ।

त्यसैगरी कपिलवस्तुको कृष्णनगरबाट पनि अत्यावश्यक सामान बोकेका सवारी साधान मात्रै प्रवेश दिन लागिएको र अन्यलाई रोक लगाउने तयारी भैरहेको छ। भारतसँग खुला सीमा भएकाले सुरक्षाकर्मी परिचालन गरी नाका बन्द गर्न लागिएको हो।

‘सीमा नाकामा कडाई, अत्यावश्यक वस्तु ढुवानीमा सहजिकरण तथा उच्च स्तरको र प्रभावकारी ड्यूटी परिचालन गर्नु, चोरी, तस्करी नियन्त्रणमा प्रभावकारी ढंगले कार्य गर्नु,’ निर्देशनको क्रममा भनेका थिए। खासगरी स्थलमार्ग हुँदै भारतीय नागरिकहरु नेपाल आउन थालेपछि सशस्त्र प्रहरीले उनीहरुको पनि निगरानी गर्ने जनाएको छ।

अहिले कैलाली र कञ्चनपुरका भारतसँग सीमाना जोडिएका अस्थायी सबै नाका अनिश्चितकालका लागि बन्द भएका छन्। भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढ्ने आशंका गर्दै सीमा नाका बन्द गर्न लागिएको गृहमन्त्रालयल स्रोतले जनाएको छ।

मुलुकभर कोभिड–१९ (कोरोना) संक्रमण बढेपछि सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जाने विदेशी नागरिकलाई पनि आजबाट रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्