‘ स्वास्थ्य मापदण्ड अपनाउँदै उपनिर्वाचन हुन्छ ’

काठमाडौं , बैशाख १६ । राष्ट्रिय सभामा रिक्त पदको लागि जेठ ६ गते उपनिर्वाचन गर्ने तयारीमा सरकार रहेको छ । यसै अनुसार आयोगले जेठ ६ गतेका लागि तय भएको राष्ट्रिय सभा उपनिर्वाचनको कार्यतालिका अनुरुप नै तयारी भइरहेको जनाएको छ।

उपनिर्वाचनका लागि आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन, २१ गते नै दावी विरोधका लागि उजुरी दिने,२४ गते उम्मेदवारी मनोनयन गर्ने लगायतका कार्यक्रम छन् ।

तर, काठमाडौं उपत्यकामा कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि २२ गतेसम्म जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्ले १५ दिनसम्म निषेधाज्ञा लगाउन पाउने अख्तियारी जिल्ला प्रशासनलाई दिएको छ ।
तथापी, राष्ट्रिय सभामा रिक्त पदको उपनिर्वाचन ३५ दिनभित्र गर्नुपर्ने व्यवस्थाका कारण तोकिएकै मितिमा निर्वाचन गर्ने तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्नैपर्ने ऐनको व्यवस्था छ । सोही अनुसार मिति तोक्नका निम्ति सरकारलाई आयोगले परामर्श दिएको र मिति तोकिएका हुनाले कानुनी रुपमा निर्वाचन सार्न सक्ने अवस्था नरहेको थपलियाको भनाइ रहेको छ ।

पूर्ण सतर्कताका साथ स्वास्थ्य मापदण्डको पालना गर्दै निर्वाचन सोही मितिमा सम्पन्न गर्नेगरी आयोगले आवश्यक तयारी गरिरहेको पनि उनले बताए । एकातिर कोरोनाको कहर रहेको छ । यसबीचमा निर्वाचन होला या नहोला त्यो भने भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्