ओली र देउवा लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेः वरिष्ठ नेता पौडेल

काठमाडौं , बैशाख १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीको सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस च्युत भएको टिप्पणी उनले गरे ।

पार्टीले संस्थागत रूपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसक्दा पनि नेतृत्वले त्यस तर्फ पहल कदमी नगरेको उनको भनाइ रहेको छ । राज्यसत्ता र पार्टी सत्ता दुवैको नेतृत्वमा रहेकाहरूबाट लोकतान्त्रिक विधि र प्रक्रियालाई उल्लंघन गर्ने काम भइरहेको उनले बताए ।

नेता पौडेलले सरकारको मात्रै नभइ पार्टी नेतृत्वको पनि चर्को आलोचना गरेका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने दिशामा अग्रसर भएको आरोप लगाए । साथै उनले गण्डकी प्रदेश संसदमा सत्तारुढ दलले गरेको घृणित कामको विरोध गर्न सबैलाई अपिल पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्