अहिलेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले गरिएको होइनः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, बैशाख १७ । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाइरहेका बेला यसको जोखिम नेपालमा पनि परको छ । यसरी जोखिम पुनः बढेका अहिलेको परिस्थितिमा सरकारले निषेधाज्ञा लागू गरेको छ। सरकारले १६ गतेबाट १५ दिने लामो निषेधाज्ञा जारी गरेको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्दा अहिले काठमाडौं सुनसान छ। ज्नता सबै घरभित्रै बसेका छन् । यसको मार आमजनताले पनि खेपीरहेका छन् । तर यता सरकारले भने यो रहर नभएर गर्ने पर्ने बाध्यता भएको बताएको छ ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन्। साथै उनले यस महारीमा सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल पनि गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा अहिलेको व्यवस्थापनको काम भने सहज हुने बताए। अहिले लागू भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलिँदो अवस्थाको चेन ब्रेक गर्न भएको उनको भनाइ रहेको छ ।

स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उनले बताए ।सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि उनले स्पष्ट पारे।

उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गरे। अहिले जनता आफैँ पनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

प्रतिक्रिया दिनुहोस्