निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने

काठमाडौं , बैशाख १७ । निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने भएको छ । कोरोना महामारीका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा निषेधाज्ञा लागू गरिएको छ । यस कारण सुन आयात प्रभावित हुने महासंघले जनाएको छ ।

सरकारले निषेधाज्ञा जारी गरेको हुनाले निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले पनि सुन आयात हुन कठिनाई भएको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले यसअघि नै गरिसकेको छ । यद्यपि केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताएका छनत् ।

उनले अधिकांश स्थानको व्यवसाय नै बन्द रहेको, ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेको, मोफसलका केही जिल्ला र शहरहरु मात्र खुलेको हुनाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताए ।

विगतमा पनि बन्दको वेला सुन आयात गरिँदा त्यो सुन वास्तविक व्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । गत वर्षको बन्दमा झण्डै ५०० किलो सुन बैंकमा थुप्रिए पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो । तर त्यो सुन कहाँ गयो भन्ने तथ्याङ्क महासंघसँग नै छैन । यसर्थ फेरि पनि त्यसरी सुन गायव नहोस् भन्नेतर्फ महासंघ सचेत बनेको छ ।

सामान्यतया बैंकहरुबाट आयात हुने सुन १५ दिनपछि व्यवसायीको सिफारिस विना नै बैंकहरुले बिक्री गर्ने गरेको र सो को तथ्याङ्क माग गर्दा महासंघलाई तथ्याङ्क नै प्राप्त नभएको पाइन्छ ।

यसरी बिक्री गरिँदा त्यस्तो सुन सिमित व्यक्तिको मात्र हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ । लगनको महिना सुन किनबेच चलीरहेका बेला कोरोनाले भने यो पनि प्रभावित हुन पुग्यो।

प्रतिक्रिया दिनुहोस्