लुम्बिनी प्रकरणले जसपा फुटको संघारमा, महन्थ ठाकुर पुगे निर्वाचन आयोग

काठमाडौं, बैशाख १७ । यति बेला लुम्बिनी प्रदेशको घटनाले जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । त्यसको तरंग केन्द्रमा पनि देखिएको छ ।

प्रदेशसभाका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको भन्दै अध्यक्ष ठाकुरले आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लुम्बिनी प्रदेशमा सांसदलाई पार्टीबाट निष्काशन गरेको बारेमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले ध्यानाकर्षण गराएको बताए । ध्यानाकर्षण गराएपनि आयोगले तत्काल त्यसमा केही गर्न नसकिने जवाफ दिएको छ । उनले भने, पार्टीले गरेको कारवाहीमा निर्वाचन आयोगले केही गर्न सक्दैन ।’

साथै यता ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् ।

पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरले बताएका छन् ।

​जसपा नेपालको १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चारजना सांसदलाई बिहीबार कारवाही गरेको हो । तर अर्का अध्यक्ष महन्थ ठाकुरले भने कारवाही ‘भएको छैन’ भन्दै प्रदेशसभाका सभामुखलाई पत्र पठाएका छन् ।

उता कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका सांसदहरु पनि कानुनी उपचारमा जाने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्