सर्वोच्च अदालतद्वारा रिट निवेदन र सुनुवाइको समय निर्धारण

काठमाडौं , बैशाख १७ । सर्वोच्च अदातलले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ।

अदालतले सूचना जारी गरी बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११ देखि दिउँसो ३ बजेसम्म तोकेको जनाएको छ।

ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको निवेदन दिउँसो १ बजेसम्म दर्ता गर्न आएमा सोही दिन सुनुवाइ हुने जनाइएको छ। त्यसपछि दर्ता हुन आए भने भोलिपल्ट सुनुवाइ गर्ने समय गरिएको छ।

सुनुवाइका क्रममा सम्बन्धित मुद्दामा एक–एक पक्ष र एक–एकजना कानून व्यवसायी मात्र इजलासमा उपस्थित भएर बहस पैरवी गर्ने निर्णय भएको अदालतका उपरजिष्ट्रार राजु ढुङ्गानाद्वारा जारी सुचनामा उल्लेख छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको बैशाख १४ गते बसेको पूर्ण बैठकले निषेधाज्ञा जारी भएको अवस्थामा अदालतबाट दिने सेवा कटौती गर्ने निर्णय गरेको थियो।

पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्