स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता, अवकास प्राप्तलाई १ वर्ष करारमा भर्ना

काठमाडौं, वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सरकारले तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने बताएका छन्।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन्। उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि जानकारी दिए।

यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षसम्म करारमा भर्ना गरिने पनि प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री केपी ओलीले सार्वजनिकस्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटलमा आइसोलेसन र क्वारेन्टाइन बनाइने बताएका छन् ।

उनले नेपाली सेनालाई १ हजार बेडको अस्पताल बनाउन निर्देशन दिइसकेको जानकारी समेत गराए। यस्तै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिने बताए । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चौबीसै घण्टा गल्ली र टोल–टोलमा सुरक्षाकर्मी खटाइने बताएका हुन् ।

‘जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ’, ओलीले भने ।

जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने तथा परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने पनि ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्