केहीबेरमा कांग्रेसका पदाधिकारी बैठक बस्दै

 

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

बैठकमा वैशाख २७ को संसद बैठकबाट प्रधानमन्त्रीले विश्वासको मतबारे कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको विशेष अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका बारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज २ बजेपछि बस्ने बैठकमा वैशाख २७ को संसद बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको अवस्थामा कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ ।

कांग्रेसले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने तथा आफ्नै नेतृत्वमा सरकार बनाउने अग्रसरता लिइसकेको छ ।

प्रधानमन्त्री ओलीको विपक्षमा बहुमत निश्चित हुनासाथ अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी थियो ।

यद्यपि कांग्रेसले नयाँ सरकार गठनको औपचारिक कदम चाल्नुअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाएका छन् ।

पुस २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावउपर छलफल र मतविभाजन हुनेछ ।

कांग्रेसले विश्वासको मतसम्बन्धी प्रस्ताव असफल पार्न पहल गर्ने निर्णय आजको बैठकबाट लिने बताइएको छ ।

कोरोनाका कारण क्रियाशील सदस्यताको काम प्रभावित भएको भन्दै महाधिवेशन कार्यतालिकालाई आंशिक संशोधन गर्नेबारे पनि आज छलफल हुनसक्ने जनाइएको छ ।

यसअघि सोमबार बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्