देउवा र प्रचण्डबीच छलफल, ओलीको रणनीतिबारे भयो यस्तो छलफल

काठमाडौं , बैशाख २१ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि उनीहरुबीच छलफल भएको हो ।

बूढानीलकण्ठ स्रोतका अनुसार सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब २० मिनेट टेलिफोन संवाद भएको थियो ।

सोमबार काँग्रेस पदाधिकारी बैठकपछि देउवा–प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम भए पनि काँग्रेस बैठक स्थगित भएपछि अपरान्ह टेलिफोनबाटै संवाद भएको हो ।

टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो । साथै, लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक संकटका विषयमा पनि छलफल केन्द्रित भएको स्रोतले जनाएको छ ।

प्रचण्डले निर्धक्कका साथ ओलीको विकल्पका रुपमा खडा हुन देउवालाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने कुरा सँगसँगै आगामी रणनीति तय गर्न देउवालाई प्रचण्डले आग्रह गरेको स्रोतले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्